ग्राभेल सडक नै ढाकिनेगरी रंगीचंगी टेन्ट । भित्र छरपस्ट प्लास्टिकका कुर्सी । परबाट हेर्दा बिहे वा धार्मिक समारोहजस्तो । टेन्टछेवै उत्तरपट्टि केही मानिस लाइनमा उभिइरहेका छन् ।
पालैपालो घाँटीमा ‘राम नाम’ लेखिएको पहेंलो गम्छा भिरेर कुर्सीमा बसिरहेका अधबैंसे पुरुषछेउ पुग्छन् । प्रतिव्यक्ति १५ रुपैयाँ तिरेर टोकन लिन्छन् । छेवैको पसलमा पुगेर दिन्छन् अनि जस्ताको छाना हालिएको घरभित्र छिर्छन् ।
मोरङको जहदा ४ सोहलकी परनीदेवी मण्डल बिरामीलाई झारफुक गर्दै। तस्बिर स् देवनारायणरकान्तिपुर भित्रको पूजा कोठाजस्तो देखिने ठाउँमा एक पुजारी महिला बसेकी छन् ।
हातमा रुद्राक्षको माला लिएकी उनी टोकन लिएर भित्र छिरेकी एक महिलासँग एकछिन कुरा गर्छिन्, त्यसपछि महिला उत्तानो परेर सुत्छिन् । पेटको भागको कपडा हटाउँदै पुजारी महिला मुख लगेर चुस्न थाल्छिन् । केहीबेरमा सानो ढुंगा निकालेझैं गरेर सबैलाई देखाउँछिन् ।
विराटनगरसँगै जोडिएको जहदा गाउँपालिका–४ सोहल टोलकी ४५ वर्षीया परनीदेवी मण्डलको घरको दृश्य हो यो । उनलाई स्थानीय ‘माता’ भनेर चिन्छन् । पुजारी बताउने उनले मुखले चुसेर पेटबाट पत्थरी निकालिदिने दाबी गर्छिन् । उनको दाबीमा भर परेर दैनिक दर्जनौं मानिस यहाँ आउँछन् । दैनिक दुई सयभन्दा बढी बिरामीको शरीरभित्रको ढुंगा चुसेर निकाल्ने परनीको दाबी छ ।
सप्तरीको खडग नगरपालिका ४ पन्सेराका ४५ वर्षीय देवनारायण चौधरीलाई केही समयअघि पेट दुख्ने समस्या देखियो । लहानमा उपचार गराउँदा चिकित्सकले पित्तथैलीमा ४ एमएमको ढुंगा रहेको बताए । ‘शल्यक्रियाका लागि रकमको जोहो गर्न थालें उनले भने त्यही क्रममा गाउँकै एक जनाले माताले चुसेर पत्थरी निकालेपछि निको हुने सुनाएपछि यहाँ आयौं ।
पहिलो पटक साउन २४ मा ‘माता’कहाँ आफू आएको र उनले चुसेर पत्थर निकालिदिएको देवनारायणले सुनाए । ‘माताले पुनः जडिबुटी खान दिनुभएको छ । १५ दिनपछि भिडियो एक्सरे गरेर हेर्न भन्नुभएको छ ।’ यहाँ १५ रुपैयाँका दरले दुई टिकट किनेको र ८०र८० रुपैयाँको प्रसाद किनेर चढाएको उनले सुनाए ।
भारत विहारको अररिया जिल्ला ग्रामपञ्चायत लक्ष्मीपुर १ का मथुरानन्द मण्डल पनि यहीँ भेटिए । छोरीहरू रुक्मिनीदेवी र पिंकीदेवीको पेटमा रहेको ढुंगा झिक्न र निःसन्तान एउटी छोरीको झारफुक गराउन आएको उनले बताए । ‘माताले दुवैको पत्थरी निकालिदिनुभयो र जेठी छोरीको सन्तान प्राप्तिका लागि झारफुक गरेर ग्रह काटिदिनुभयो उनले भने । ईकान्तिपुरबाट साभार गरिएको ।