हेटौँडा : बाराका ११ वर्षीय शिशिर बिक हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डको १५ नम्बर बेडमा छन् उनको एउटा हातको ह ड्डीमा चो ट लागेको छ। अनुहारमा पनि थुप्रै घाउ लागेका छन्। उनी घरिघरि आफ्नो बेडमा बसिरहेका आफन्तलाई अँगाल्दै बेस्सरी रुन्छन्।
उनी आफूलाई लागेको चो टको दुखाइको कारण रोएका होइनन्, आफूसँगै बसमा भएका बुबाको मृत्युको कारण रोइरहेका हुन्। बिक बुवासँग हेटौँडामा रहेकी ठूलो ममीको घरमा टीका लगाउन आएका थिए। उनको बुबा सुरेश बिक पनि पेशाले सवारी चालक हुन्।
हेटौँडाबाट बाबुछोरा नारायणगढ-पथलैयासम्म जाने गाडी चढे। चुरिया मन्दिरबाट तल गएपछि उनीहरु चढेको बसमा ब्रेक लागेन। ब्रेक नलागेको थाहा पाएपछि शिशिरको बुबा सुरेशले चालकलाई बस जंगलतिर मोड्न आग्रह गरेका थिए। आफू पनि चालक भएकोले उनको बुबाले गाडीको ब्रेक फेल हुँदा बस जंगलतिर मोड्न उचित लागेर चालकलाई सोही आग्रह गरेका थिए।
‘गाडीको ब्रेक फेल भएको थाहा पाउने बित्तिकै बुबाले गाडी जंगलमा हाल्दे भन्नुभयो,’ रुँदै उनले भने, ‘ड्राइभरले बुबाले भनेको कुरा नसुनी हर्न बजाउँदै गाडी अगाडि नै लगे। ३ नम्बर पुल नजिकको मोडमा गाडी झर्न लागेको जस्तो भएपछि ड्राइभर हामफाले। त्यसपछि कतिबेला केके भयो भयो।’ यतिबेला उनी हेटौँडा अस्पतालको बेडमा छ टपटाइरहेका छन् भने उनको बुबा अस्पतालको पोस्टमार्टम कक्षमा छन्।
‘ड्राइभरले बुवाले भनेको मानेर गाडीलाई जंगलमा मोडेको भए अहिले बुबा जिवितै हुनुहुन्थ्यो’ रुँदै उनले भने। दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बुबालाई बेहो स देखेपछि आमा निशा बिकलाई फोन गरेका थिए। अहिले अस्पतालमा उनकी आमा पनि आइपुगिसकेकी छन्। बाँ च्नको लागि उनले चालकसँग गरेको आग्रह मानेको भए सायद यतिबेला उनी जीवित हुने थिए।
उनको आग्रह नमान्ने चालक यतिबेला हेटौंडाको चुरेहिल अस्पतालको नर्मल बेडमा उपचाररत छन्। बिहीबार बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा परी हालसम्म १६ जनाको मृत्यु भइसकेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाका अनुसार दुर्घटनाको कारण ब्रेक फेल नै देखिएको छ। उनका अनुसार हालसम्म दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ। मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको हो। सनाखत हुनेमा बारा कलैया–२ का अन्दाजी ४०/४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी र चितवन कालिका नगरपालिका रमाइलो चोकका अन्दाजी १४/१५ वर्षीय सफल कँडेल रहेका छन्।
त्यस्तै, वीरगञ्ज–१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, ३५/३६ वर्षीया मन्निदेवी चौरासिया र १९/२० वर्षका स्वस्तिका श्रेष्ठ, बारा कलैया–१० बस्ने अन्दाजी ३५/३६ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा–२२ का २८ वर्षीय सुरेश बिक, बारा कलैया–१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी र ओखलढुंगाका लालबहादुर बोगटीको पनि सनाखत भएको गौतमले बताए।
उनका अनुसार चितवन खैरेनी–५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल र जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोष कुमार यादवको सनाखत भएको छ भने हेटौँडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न नसकेको उनको भनाई छ।