कचनकवल । नम्बर प्लेट नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कचनकवल गाउँपालिका- ६ स्थित बनियानी निवासी ६ वर्षीय बालक निसान सुवेदी रहेका छन् । उनको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको गम्भीर चोट लागेकोले चिकित्सकले टाउको शल्यक्रिया गर्नु परेको परिवारजनले जनाएको छ । तर, बालकलाई ठक्कर दिने मोटरसाइकलको अझै पहिचान खुलेको छ ।
जसले गर्दा बालकको उपचारमा आर्थिक समस्या देखा परेको छ । भदौ २ गते शनिबार बेलुका करिब ३ बजेको समयमा तीन जना सवार मोटरसाइकलले बालकलाई ठक्कर दिएका थिए । बाटो काट्दै गरेको बालकलाई साना किसान कृषि सहकारी संस्थाको कार्यालय नजिकै भेटवालको घर अगाडि सेतो रङ्गको ट्याङ्की भएको सुजुकी कम्पनीको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि ठक्कर दिने मोटरसाइकल चालक, सवार दुई व्यक्ति र स्थानीय मिलेर बालकलाई तत्काल उपचारका लागि स्थानीय उपचार केन्द्र लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि बालकलाई एम्बुलेन्समा हालेर बीएण्डसी अस्पताल लगिएको थियो ।
तर, घटनामा संलग्न मोटरसाइकल चालक र दुई युवा अस्पताल गएनन् । उनीहरू एकाएक त्यहाँबाट फरार भए । बुझेअनुसार मोटरसाइकल चालकको सवारीचालक अनुमति पत्र (लाइसेन्स) समेत छैन । उनीहरूको घर कचनकवल- ५ पाठामारीस्थित फूलबारी टोलका स्थानीय हुन् । प्रत्यक्षदर्शीहरू भन्छन्, ‘बालकलाई दुर्घटना गराउने तीनै जनालाई हामी देखेपछि चिन्छौँ, नाम चाहिँ थाहा भएन, उनीहरू फूलबारी टोलका हुन् ।’ घटना पश्चात् ती युवाहरूलाई राजनीतिक संरक्षणमा भगाइएको पीडित परिवारको आरोप छ । उनीहरुलाई भारततर्फ भगाइएको छ । त्यसैले प्रहरीले पनि घटनामा खासै चासो नदेखाएको पीडित पक्षको भनाई छ ।
दोषीलाई कारबाही चलाउनुको सट्टा उल्टै भाग्न सल्लाह दिने स्थानीय नेता कारण पीडित परिवारमाथि थप पिडा थपिएको छ । हालसम्म सवारी चालक पक्राउ नपर्नुमा प्रहरीको गैरजिम्मेवारी भएको बालकका हजुरबुबा सुरेन सुवेदी बताउँछन् । पीडित परिवारले दुर्घटनामा प्रयोग भएको सवारी र चालकलाई पक्राउ गरी क्षतिपूर्तिसहितको कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनियानीमा निवेदन दर्ता गराइसकेको छ । प्रहरीले घटनाको सूक्ष्म अध्ययन गरिसकेको बताउँदै इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक जीतबहादुर कार्कीले फरार रहेकाहरूलाई पक्राउ गरी पीडित बालकलाई न्याय दिलाएर छाड्ने बताएका छन् ।