काठमाडौं । बसमा यात्रा गर्दा भाडा तिर्नुपर्छ ।
तपाईले पनि टिकट काटेर बसमा यात्रा गर्नुभएको होला तर भारत, तेलंगानामा एउटा यस्तो घटना घट्यो कि सबैको ध्यान खिचेको हो ।
त्यहाँ कुखुराले बसमा यात्रा गर्दा भाडा तिर्नुपरेको छ । बसका सहचालकले कुखुराको टिकट काटेर भाडा उठाएका हुन् ।
अहिले यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तेलंगाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन (टीएसआरटीसी) को बसमा यात्रा गर्ने कुखुराले भाडाका रूपमा झण्डै ५० रुपैयाँ तिर्नुपरेको हो ।
समाचार अनुसार तेलंगानाको करीमनगर जिल्लामा टीएसआरटीसी बस सहचालकले बसमा यात्रा गर्ने कुखुराको टिकट काटिदिएका हुन् ।
सहचालकले कुखुराको मालिकलाई भाडा पनि तिर्न भनेको भिडियोमा देख्न सकिन्छ । यात्रुलाई टिकट दिएर उनीबाट झण्डै ५० रुपैयाँ लिएका हुन् । तिरुपतिले पेड्डापल्लीबाट करीमनगर जाने बसमा एक यात्रु बोकेका थिए ।
उनी सुल्तानाबाद जानको लागि बसमा चढे, बसका सहचालकले यात्रु मोहम्मद अलीलाई कुखुराको टिकट पनि लिन भनेका हुन् । केहीबेर दुवैबीच झगडा भयो तर बसका सहचालकले मानेनन् ।
त्यसकारण कुखुराको टिकटका लागि ५० रुपैयाँ तिर्नुपरेको थियो । बसमा सवार एक यात्रुले यो पूरै घटनाको भिडियो खिचेका हुन् । त्यसपछि यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
जब यो जानकारी टीएसआरटीसी अधिकारीहरु सम्म पुग्यो, उनीहरु पनि छक्क परे । एक अधिकारीले कुखुराको टिकट काट्नुको सट्टा यात्रुलाई कुखुरा लिएर तल ओर्लन भन्नुपर्थ्यो भनेका छन् । टीएसआरटीसी बसहरूमा जनावरहरू लैजान अनुमति छैन ।
अधिकारीहरूले यस विषयमा छानबिन गर्ने र सञ्चालकसँग स्पष्टीकरण माग्ने आश्वासन दिएका छन् । यो पहिलो घटना होईन्, यसअघि पनि कर्नाटक राज्य सडक यातायात निगमको बसमा टिकट काटेर कुखुराबाट भारु ५२ रुपैयाँ भाडा लिइएको थियो ।
घटना यस वर्षको जनवरी महिनामा भएको हो । बसमा परिवारसँग यात्रा गरिरहेकी महिलालाई कुखुराको आधा टिकट दिन भनिएको थियो । भाडाअनुसार बसका सहचालकले उनीसँग ५२ रुपैयाँ लिएका हुन् ।