‘सुरक्षा प्रोटोकलका लागि २ सुरक्षाकर्मीसहित ५ जना मात्र गए पुग्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ अमेरिका जाने टोलीमा नाम रहेका एक अधिकारीले भने, ‘हामीले नै प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हौं, अब टोली छरितो बन्छ ।’ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र स्वकीय सचिव गंगा दाहाल टोलीमा सहभागी हुनेछन् ।
कामै नभएका राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राजनीतिक सल्लाहकार हरिबोल गजुरेललगायत २४ जनाको टोली अमेरिका जाने तयारीमा थियो ।
आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरूले जम्बो टोली लिएर नजान सुझाव दिएका थिए ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन् ।
प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ । चीन भ्रमणमा जाने सरकारी टोली पनि छरितो आकारको बनाउने प्रचण्डका एक सहयोगीले जानकारी दिए ।
‘अहिलेसम्म चीन भ्रमणमा जाने टोलीको टुंगो लागेको छैन, भोलिको मन्त्रिपरिषद् बैठकबाट टुंगो लाग्छ,’ उनले लोकान्तरसँग भने ।