अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायब भएपछि अस्पतालका चिकित्सक र शिशुका अविवाहित ‘बाबु’लाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरका स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई पक्राउ परेका हुन् । आफ्ना प्रेमी र चिकित्सक कर्णले मिलेर शिशु गायब पारेको भन्दै २६ वर्षीया पीडितले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी रन्जन दाहालका अनुसार सामान्य अवस्थामा जन्मिएकी बच्चाको अवस्था अहिले सम्म अज्ञात छ । प्रहरी नियन्त्रणमा रहेका चिकित्सक कर्णले अनुसन्धानमा असहयोग गरेका कारण बच्चाको अवस्था प्रस्ट हुन नसकेको दाहालको भनाइ छ ।
गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई असार १३ मा विराटनगर लिएर आएका थिए । सुरुमा ग्रिनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा पुगे । डा. कर्णले सञ्चालन गरेको क्लिनिकमा सुरुमा परीक्षण गरेपछि कर्णले ती युवतीलाई नजिकको ग्रिनक्रस अस्पतालमा भर्ना गराएका थिए । असार १४ मा नर्मल अवस्थामा शिशुको जन्म गराएर त्यसै दिन युवतीलाई उनले डिस्चार्ज दिएका थिए ।
डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) एवं राजनीतिमा पहुँच राख्ने चिकित्सक पनि हुन् । उनी विराटनगरमा एक व्यस्त चिकित्सकको रुपमा पनि चर्चित छन् ।
सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका छन् । क्लिनिकमा आएकालाई भर्ना गर्नुपर्दा उनले ग्रिनक्रस अस्पतालमा लगेर उपचार गर्छन् । उनको क्लिनिकबाट ग्रिनक्रस ५० मिटर पश्चिममा पर्छ ।
उनले ती युवतीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएको र जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिएको अनुसन्धानमा खुलासा भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ती युवतीको वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।
अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ मा दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ ।
अस्पतालले डिस्चार्ज दिएपछि प्रेमी गोविन्दले प्रेमिकालाई इटहरी लिएर गएको अनुसन्धानमा खुलेको छ ।गोविन्दले प्रेमिकालाई टेम्पोमा राखेर बच्चाबिना नै इटहरी पुर्याएर बसपार्क छेउको होटलमा कोठा लिएर राखेको पनि खुलेको छ । प्रेमिकाले बच्चा खोइ भन्दा गोविन्दले अस्पतालमै उपचार भइरहेको बताए । दुई दिन पछि असार १६ मा गोविन्द प्रेमिकालाई ‘काम छ बस्दै गर्नु’ भन्दै होटलबाट हिँडेका थिए । ‘त्यसपछि फर्किएर आउनु भएन,’ पीडित युवतीले भनिन् ।
प्रेमी गोविन्द फर्किएर नआएपछि युवती होटलमा अलपत्र परेपछि सुनसरीको सोनापुर आएर बसिन् । गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको ती युवतीको भनाइ छ । छोरी जन्मिएको अस्पतालकै नर्सहरुले आफूलाई सुनाएको पनि युवतीले बताइन् ।
‘पछि डिस्चार्ज गर्दा बच्चा दिएनन्,’ उनले प्रहरी समक्ष भनिन् । बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । होटलमा छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन् । उनले साउन ३२ मा किटानी उजुरी दिएपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ ।
उजुरी परेपछि प्रेमी गोविन्द प्रहरीको सम्पर्कमा आएका थिए । उनीसँगको सोधपुछपछि प्रहरीले डा. कर्णलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । ‘अस्पतालमा भएका कारण डा. कर्णसँग सोधपुछ गर्न र घटनाका बारेमा सबै कुरा बुझ्न पाइएकै छैन,’ डीएसपी दाहालले भने ।
डा. कर्णले भने ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् । दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आएको भनेका थिए ।
प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरिएको छ ।’ गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको डिएसपी दाहालको भनाइ छ ।
प्रहरीका अनुसार बच्चा कहाँ पुर्याइयो भन्ने खुल्न सकेको छैन । चिकित्सक र गोविन्दलाई सँगै राखेर सोधपुछ गर्न नपाउँदा बच्चाको अवस्थाका बारेमा जानकारी हुन नसकेको डीएसपी दाहालको भनाइ छ । उनका अनुसार गोविन्द हिरासतमा र चिकित्सक अस्पतालको बेडमा रहेकाले दुवैलाई एकै ठाउँमा राखेर सोधपुछ गर्न पाइएको छैन ।
बच्चा जन्मिदा नौ सय ५० ग्राम तौलको रहेको अस्पतालको रेकर्डमा देखिएको प्रहरीले जनाएको छ । अवैध गर्भधारणबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतिलाई बेच्ने गरिएकोले यो विषयमा गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।