काठमांडौ । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।
मृतक विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । शिक्षकको कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालको उपचारका क्रममा गुजरातको एक अस्पतालमा मृत्यु भएको हो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।
प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा दायर गरिएको छ । प्रहरीका अनुसार परिवारको उजुरीमा शिक्षकविरुद्ध एससीएसटी ऐन र धारा ३०२ अन्तर्गत मुद्दा दर्ता भएको हो ।
यसैबीच राजस्थानको मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिने पनि मुख्यमन्त्री अशोकले बताएका छन् ।